काठमाडौं- तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि देश छाडेर जान चाहनेको विमानस्थलमा भीड जम्मा भयो। अहिलेपनि अमेरिका, बेलायतसहितका देशले अफगानिस्तानबाट मानिसहरुलाई उद्धार गरिरहेका छन्।
विभिन्न देशका कुटनीतिक नियोग, सुरक्षा निकायका लागि काम गर्ने कर्मचारी, अफगानी अनुवादकहरुलाई सम्बन्धित देशले उद्धार गरिरहेका छन्। विमानस्थल जाने क्रममा केही दिन पहिला अस्ट्रेलियाली सेनाका लागि काम गर्ने अनुवादकमाथि तालिबानले गोली चलाएको थियो।
तालिबानले कब्जा जमाएसँगै सरकारी टेलिभिजनबाट महिला पत्रकार निकालिएका समाचारहरु सार्वजनिक भइरहेका छन्।
यसैबीच एक अफगानी पत्रकारले देश छाडेका छन्।
लामो समयदेखि पत्रकारिता गरिरहेका टेलिभिजन पत्रकार खलिद अमिरीले अफगानिस्तान छाडेका हुन्।
खैबर टेलिभिजनका पूर्व प्रस्तोतासमेत रहेका सामाजिक अभियन्ता अमिरीले सामाजिक सञ्जालमा विमानको अगाडि उभिएको तस्वीर राख्दै आफूले देश छाडेको बताएका हुन्।
'कुनै पनि शब्दले मेरो भावनाको वर्णन गर्न सक्दैन र केहीले पनि यो पीडालाई ठिक गर्न सक्दैन' अमिरीले ट्वीटरमा लेखेका छन्, 'मैले कहिलेपनि एउटा सानो हाते झोला बोकेर देश छाड्नेबारे सोचेको थिइनँ, यसले मलाई दु:खित बनाएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।