काठमाडौं- अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ। अमेरिकी अधिकारीहरुले उक्त विमानस्थल बाहिर विस्फोट भएको जानकारी दिएका हुन्।
‘काबुल विमानस्थलबाहिर विस्फोट भएको छ। कति क्षति भयो, अहिले स्पष्ट छैन,’ अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले भनेका छन्।
तालिबानले काबुल कब्जा गरेसँगै राष्ट्रपति अशरफ घानी देश छाडेर भागेपछि अन्य मुलुकले यही विमानस्थलबाट आ–आफ्ना नागरिकको उद्दार गरिरहेका छन्।
यद्यपि, अमेरिका र बेलायतले सुरक्षा खतरालाई ध्यान दिँदै आफ्ना नागरिकलाई आतंकवादी हमला हुनसक्ने चेतावनी दिँदै काबुल विमानस्थलतर्फ नजान गर्दै आएको थियो।
विगत १० दिनमा काबुलमा ८२ हजारलाई सुरक्षित रुपमा निकालिएको छ। ३१ अगस्टसम्ममा यी देशबाट आफ्ना नागरिकलाई लैजाने प्रयासमा अमेरिका, बेलायतलगायतका देश लागिरहेका छन्।
अमेरिकी विदेश सचिव एन्टनी ब्लिंकनका अनुसार तालिबानले देशबाट खाली गर्ने अवधी ३१ अगस्टबाट बढाउन गरिएको मागलाई खारेज गरिदिएको छ। तर, ३१ अगस्टपछि पनि विदेशी र अफगान नागरिकले देश छाड्न सक्ने उनले बताए।
आफ्नो एलर्टमा अमेरिकी विदेश विभागले विमानस्थलको पूर्व तथा दक्षिण गेटमा कुरिरहेकाहरुलाई तुरुन्त अफगानिस्तान छाड्न भनेको छ।
यसअघि बेलायतले यस्तै खालको एलर्ट जारी गरेर सुरक्षित स्थानमा जान र आगामी निर्देशनलाई कुर्न भनेको थियो।
बेलायतको विदेश कार्यालयले अफगानिस्तानको सुरक्षा स्थिति अस्थिर बनेकोु र आतंकवादी हमलाको ठूलो खतरा भएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।