काठमाडौं- अमेरिका र बेलायतले सुरक्षा खतरालाई ध्यान दिँदै आफ्ना नागरिकलाई काबुल विमानस्थल तर्फ नजान चेतावनी दिएका छन्।
आतंकवादी हमलाको आशंकामा यी देशले आफ्ना नागरिकलाई विमानस्थलतर्फ नजान भनेका हुन्।
बुधबार दुबै देशले आफ्ना हजारौं नागरिकका लागि एक एलर्ट जारी गरेका हुन् जो विमानस्थलको बाहिर र भित्र रहेका छन्। उनीहरु आफ्नो देश फर्कने प्रतिक्षामा रहेका छन्।
विगत १० दिनमा काबुलमा ८२ हजारलाई सुरक्षित रुपमा निकालिएको छ। ३१ अगस्टसम्ममा यी देशबाट आफ्ना नागरिकलाई लैजाने प्रयासमा अमेरिका, बेलायत लगायतका देश लागिरहेका छन्।
अमेरिकी विदेश सचिव एन्टनी ब्लिंकनका अनुसार तालिबानले देशबाट खाली गर्ने अवधी ३१ अगस्टबाट बढाउन गरिएको मागलाई खारेज गरिदिएको छ। तर ३१ अगस्टपछि पनि विदेशी र अफगान नागरिकले देश छाड्न सक्ने उनले बताए।
आफ्नो एलर्टमा अमेरिकी विदेश विभागले विमानस्थलको पूर्व तथा दक्षिण गेटमा कुरिरहेकाहरुलाई तुरुन्त अफगानिस्तान छाड्न भनेको छ।
यसअघि बेलायतले यस्तै खालको एलर्ट जारी गरेर सुरक्षित स्थानमा जान र आगामी निर्देशनलाई कुर्न भनेको थियो।
बेलायतको विदेश कार्यालयले अफगानिस्तानको सुरक्षा स्थिति 'अस्थिर बनेको' र ' आतंकवादी हमलाको ठूलो खतरा' भएको बताएको थियो। तर अमेरिकाले भने सुरक्षा खतराबारे केही नभनेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।