काठमाडौं- तालिबानले अफगानिस्तानको केन्द्रीय राजधानी काबुलको उच्च सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ।
मंगलबार अरबी भाषाको ट्विटर अकाउन्ट (@alemara_ar) मार्फत् तालिबानले नयाँ सुरक्षा बल गठन गरेको जानकारी दिएको हो। उक्त ट्वीटमा तस्वीरसहित लेखिएको छ, ‘फतेह वाक’ अर्थात् विजेता फोर्स हो र यसले काबुल सहरमा गस्ती गर्न सुरु गरेको छ।’
उक्त तस्वीरमध्ये एकमा तालिबानको सेतो झन्डासहितका सैन्य वाहनको लाइन देखिन्छ। अर्काेमा यी गाडीमा पस्तो र अंग्रेजी भाषामा नयाँ सुरक्षा बलको नाम देखिन्छ।
राष्ट्रपति अशरफ घानी देश छोडेर हिँडेपछि तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको छ।
त्यसअगाडि अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न 'शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा' सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।
तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकूलाई सहर पस्न अनुमति दिइएको थियो।
तालिबानले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।
स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति घानीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्।
राष्ट्रपति कार्यालयमा तालिबानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन। काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।
हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो। आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।