डकार- युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन्।
'हाब्रे भगवान्को साथमा लीन हुनुभयो,' सालले टेलिभिजन च्यानल टीएफएमसँग भने। सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड-१९ को कारण मृत्यु भएको बताएको छ।
सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवताविरुद्ध अपराधको अभियोग लगाइएको थियो। उनले सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ वर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भागेका थिए।
विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निश्कर्ष उनका विरोधीहरूले बताउने गरेका छन्। मरुभूमि क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ।
‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डाकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित बजारको उपनगरमा शान्त जीवन बिताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।