Photo : Rahmat Gul/AP
काठमाडौं- अफगानिस्तानको राजधानी काबुलबाट उत्तर पर्ने तालिबान विरोधी शक्तिको अन्तिम तथा प्रमुख गढ पञ्जशीर उपत्यका घेराबन्दी गरिएको तालिबानले दाबी गरेको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बागलान प्रान्तका तीन जिल्ला बन्नु, पुल-ए-हिसार र देह-ए-सलाह पूर्ण रूपमा शत्रुमुक्त भएको दाबी गरेका हुन्।
अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ वटा आफ्नो नियन्त्रणमा लिइसकेको तालिबानले पञ्जशीरमात्रै आफ्नो पहुँचमा पार्न सकेको थिएन। त्यहाँ अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि बसिरहेका छन् र तालिबानविरुद्ध युद्ध छेड्ने चेतावनी दिइरहेका छन्।
तर, प्रवक्ता मुजाहिदले उपत्यका आफ्नो नियन्त्रणमा आइसकेको भन्दै ट्वीटर लेखेका छन्, ‘सालङ राजमार्ग खुला छ र दुश्मन पञ्जशीरमा मात्र सीमित भएका छन्।’
हिन्दुकुश पहाडले घेरिएको पञ्जशीर उपत्यका लामो समयदेखि तालिबानविरोधी शक्तिको केन्द्र बनिरहेको थियो। त्यहाँ अहमद मसुद विद्रोही नेताहरूसँग सहभागी हुँदै लडाइँका लागि तयारीमा जुटेका थिए। उनले अफगानिस्तानको पूर्वसरकारका सेना र तालिबान विरोधीहरूलाई एकजुट गराइरहेका छन्।
रेजिस्टेन्स फ्रन्टका प्रवक्ता अलि मैसम नजारीका अनुसार तालिबानविरुद्ध लड्न झन्डै ९ हजार लडाकू तयार पारिएको थियो। तिनलाई तालिमसमेत दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।