Photo : Stringer/EPA
काठमाडौं- रुसले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएको छ।
सरकारका प्रवक्ता दिमित्री पेस्कोभले तालिबानविरुद्ध मिलिशिया समूहले लडाइँ थालेकोप्रति संकेत गर्दै अफगानिस्तानमा गृहयुद्ध हुने चेतावनी दिएका हुन्।
तालिबान प्रवक्ताका अनुसार मिलिशिया समूहको कब्जामा रहेको तीन जिल्ला पुन: फिर्तामा लिइएको छ। बागलान प्रान्तको बानो, देह सालेह, पुल ई–हेसार जिल्लालाई १५ अगस्टमा राजधानी काबुल कब्जा गरेपछि तालिबानसँग सशस्त्र प्रतिरोधको पहिलो संकेतमध्ये एक स्थानीय मिलिशिया समूहहरुद्वारा कब्जा गरिएको थियो।
प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबारसम्म तालिबान सेनाले पञ्जशीर उपत्यका नजिकैको बडाखशान, तखार र अन्दरब जिल्लामा आफ्नो उपस्थिति बढाएको छ।
प्रवक्ता पेस्कोभले सोमबार भने,‘सम्भवतः त्यहाँ (अफगानिस्तान)मा नयाँ गृहयुद्धको जोखिम छ। तर, रुसले हस्तक्षेप गर्दैन। नि:सन्देह कोही पनि यी घटनाहरुमा हस्तक्षेप गर्न चाहँदैनन्।’
रुसले अफगानिस्तानमा तालिबानको कब्जालाई चिन्ताका साथ हेरिरहेको छ। अन्य कुराहरुको अलावा मध्य एशियामा लडाकूहरु प्रवेश गर्ने खतरा रहेको रुसले बताइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।