Photo : AP
काठमाडौं- काबुल विमानस्थल प्रवेशद्वार नजिक गोली हानाहान भएको छ।
हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सोमबार भएको भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ। अरु ३ जना घाइते भएको जर्मन आर्मीका अधिकारीले बताए।
पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान भएको उनले जानकारी दिए। गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि समावेश भएको उनले बताए।
गएको हप्तामा तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिएको छ। आइतबार मात्रै काबुल बाहिर भएको भागदौडमा सात अफगान नागरिक मारिएका थिए।
‘काबुलको परिस्थिति अत्यन्तै चुनौतीपूर्ण छन्। तर, हामी परिस्थितिलाई यथासम्भव सुरक्षित बनाउन र व्यवस्थित गर्न सक्दो प्रयास गरिरहेका छौं,’ बेलायती रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
काबुल कब्जा गरेसँगै तालिबानले सरकारी अधिकारी, विदेशी नागरिक र उनीहरुका साथ काम गरेका अन्य नागरिकलाई केही नगर्ने वचन दिएको थियो। यद्यपि, धेरै अफगानी देश छोड्न खोज्दैछन् र यसका लागि उनीहरु जुनसुकै हदसम्म जान तयार छन्।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का आधिकारीका अनुसार विमानस्थल आसपासको क्षेत्रमा गत हप्ताभरमा गोलीकाण्ड तथा भागदौडका कारण कम्तीमा २० जनाको ज्यान गएको छ। अहिले विमानस्थल सुरक्षित बनाउन ९ हजार ५ सय बेलायती र ४५ सय अमेरिकी सेना खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।