काठमाडौं- तालिबानी लडाकु आफ्नो नियन्त्रणमा नआएको अफगानिस्तानको पञ्जशीर क्षेत्रतर्फ गएका छन्। तालिबानले आइतबार राति उसका सयौं लडाकु पञ्जशीर तर्फ निस्किएका बताएको बीबीसीले उल्लेख गरेको छ।
यो स्थान अफगानिस्तानको केही त्यस्ता क्षेत्रमा पर्छ जसको नियन्त्रण अहिलेसम्म तालिबानसँग छैन।
काबुलको उत्तरमा रहेको पञ्जशीर तालिबान बिरोधीको गढ रहेको छ। जसको नियन्त्रण अहिले पूर्व मुजाहिदीन कमान्डर अहमद शाह मसूदका छोरा अहमद मसूदको हातमा छ। अलकायदाद्वारा अमेरिका हमला भन्दा दुई दिन पहिला अहमद शाह मसूदको हत्या गरेको थियो।
तालिबानले आफ्नो ट्विटर ह्यान्डलबाट भनेको छ ‘स्थानीय अधिकारिले शान्तिपूर्ण तरिकाले पञ्जशीर प्रान्त उनीहरुलाई निदिएका कारण सयौं लडाकु त्यसको नियन्त्रणका लागि अघि बढेका छन्।’
राजधानी काबुलमा तालिबानको कब्जापछि हजारौं मानिस पञ्जशीर तर्फ गएका छन्। मसूदको नेतृत्वमा रहेको तालिबान विरोधी संगठनले तालिबानसँगको लडाइका लागि करिब ९ हजार मानिसलाई तयार गरेको जनाएको छ।
मसूदले सऊदी अरबको सञ्चारमाध्मय अल-अरबियासँग बताए अनुसार अफगानिस्तानका अन्य कयौं प्रान्तबाट सरकारी सुरक्षाबल भागेर आएका छन्।
उनले अफगानिस्तानको रक्षाका लागि आफू तयार रहेको र रक्तपातको चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।