File Photo : Rahmat Gul/AP
काठमाडौं- गएको हप्ता अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा नियन्त्रण कायम गरेको तालिबानले सञ्चार जगतसँग सम्बन्ध सुधार गर्नका लागि एक समिति गठन गर्ने बताएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले समिति त्रीपक्षीय हुने बताए। समितिमा तालिबानका एक सदस्य, मिडिया प्रोटेक्शन एसोसिएशनका प्रमुख तथा एक प्रहरी अधिकारी हुने बताइएको छ।
यसअघि इन्टरनेशनल फेडेशन अफ जर्नालिस्टका उपमहासचिव जेरेमी डियरले अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि पत्रकारहरुलाई काम गर्न निकै चुनौतिपूर्ण बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
‘अफगानिस्तानमा पत्रकारहरुलाई धम्की दिने तथा काम गर्न नदिने गतिविधि बढेको छ,’ उनले भनेका थिए।
तालिबानले योपटक आफ्नो शासन विगतको जस्तो नहुने आश्वासन दिएको छ। अफगानिस्तानका सञ्चारमाध्यमहरुलाई केही शर्तहरुसहित काम गर्न दिइने बताएको छ।
महिलाहरुलाई पनि शरिया कानुन अनुसार काम गर्ने छुट दिइने जनाएको छ। तर, केही महिला पत्रकारहरुलाई समाचार प्रस्तुत गर्न तालिबानले प्रतिबन्ध लगाएको समाचारहरु पनि प्रकाशित भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।