Photo : AFP
काठमाडौं- इस्लामिक सहयोग संगठन (ओआईसी) को ५७ सदस्यले अफगानिस्तानमा शान्ति स्थापना गर्न सहयोग गर्ने वाचा गरेका छन्।
संगठनले यसका लागि अफगानिस्तानको भावी नेतृत्व र अन्तर्राष्ट्रिय समुदायलाई एकसाथ काम गर्न आग्रह गरेको छ।
साथै, संगठनले अफगानिस्तानलाई फेरि आतंकवादीहरुको एक मञ्च वा सुरक्षित आश्रयको रूपमा प्रयोग गर्न रोक्ने बताएको छ।
‘अफगानिस्तानलाई पैताला मुनी राख्न आतंकवादी संगठनलाई अनुमति छैन,’ एक विज्ञप्तिमा भनिएको छ।
यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार अफगानिस्तान संकटबारे छलफल गर्न जी ७ राष्ट्रको बैठक आह्वान गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तान संकट हल गर्ने उपाय खोज्नसमेत आग्रह गरे।
‘विभिन्न देशका नागरिकको उद्धार सुनिश्चित गर्न, मानवीय संकट रोक्न, विगत २० वर्षको लाभ सुरक्षित गर्न र अफगान जनतालाई सहयोग गर्नको लागि मिलेर काम गर्न जरुरी छ,’ जोन्सनले ट्वीटरमा भने।
बेलायतले हाल जी ७ को नेतृत्व गरिरहेको छ। जी ७ मा बेलायतसहित अमेरिका, इटाली, फ्रान्स, जर्मनी, जापान र क्यानाडा सदस्य राष्ट्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।