Photo : Ravinder Singh Robin/BBC
काठमाडौं- भारत सरकारले आफ्नो नागरिकसहित २ नेपालीको पनि अफगानिस्तानबाट उद्धार गरेको छ।
अन्तर्राष्ट्रिय न्युज एजेन्सी एपी (एसोसिएट प्रेस)ले भारतको विदेश विभागका प्रवक्ता अरिन्दम बाग्चीको भनाई उद्धृत गर्दै इन्डियन एयरलाइन्सले आइतबार बिहान काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ नेपालीसहित ८७ भारतीय नागरिकको उद्धार गरेको पुष्टि गरेको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार विमान काबुलबाट पहिले कजाकिस्तानको राजधानी नुर–सुल्तान पुगेको थियो। नुर–सुल्तानबाट कतारको राजधानी दोहा हुँदै भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेको थियो।
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को सहमतिमा भारतले काबुलबाट दिनमा दुई विमान उडाउने अनुमति पाएको छ। यसैअन्तर्गत आइतबार भारतीय विमानले कूल २ सय ५५ जनालाई उद्धार गरेको हो।
तालिबानले काबुल कब्जा गरेसँगै हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ। आइतबार मात्रै काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।
हालसम्म यसरी ज्यान गुमाउनेको संख्या २० पुगिसकेको छ। अफगानिस्तान छाडेर स्वदेश फर्किने विदेशी नागरिक र अन्यको सहयोग गर्न हाल काबुल विमानस्थलमा ४५ सय अमेरिकी र ९ हजार बेलायती सेना खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।