Photo : Wakil Kohsar/AFP
काठमाडौं- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा एक हप्ताको अवधिमा देश छाड्न चाहने २० जनाले ज्यान गुमाएका छन्।
तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि देश छाड्ने क्रममा काबुल विमानस्थल र त्यस वरपर सात दिनमा कम्तीमा २० जनाको मृत्यु भएको उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का अधिकारीहरुले बताएका छन्।
काबुल कब्जा गरेसँगै तालिबानले सरकारी अधिकारी, विदेशी नागरिक र उनीहरुका साथ काम गरेका अन्य नागरिकलाई केही नगर्ने वचन दिएको थियो। यद्यपि, धेरै अफगानी देश छोड्न खोज्दैछन् र यसका लागि उनीहरु जुनसुकै हदसम्म जान तयार छन्।
‘काबुल विमानस्थल बाहिरको अवस्था चिन्ताजनक छ। हाम्रो ध्यान जतिसक्दो चाँडो सबै विदेशीहरुलाई निकाल्नु हो,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने।
विगत एक हप्तादेखि हरेक दिन विमानस्थलमा भीड बढेको छ। संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रहरुले आफ्ना हजारौं कूटनीतिज्ञ र नागरिकहरु साथै असंख्य अफगानहरुलाई निकाल्ने प्रयास गर्दा विमानस्थल सञ्चालनमा बाधा पुगेको छ।
नेटोका अधिकारीले थपे, ‘तालिबानसँग कुनै झडप हुन नदिन हाम्रा सेनाहरुले काबुल विमानस्थलको बाहिरी क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएका छन्।’
आइतबार मात्रै काबुल विमानस्थल बाहिर भएको भागदौडमा सात अफगान नागरिक मारिएको बेलायती सेनाले जनाएको छ।
बेलायती रक्षा मन्त्रालयले एक विज्ञप्तिमा निकाल्दै उनीहरुको मृत्यु भएको पुष्टि गरेको हो। ‘काबुलको परिस्थिति अत्यन्तै चुनौतीपूर्ण छन्। तर, हामी परिस्थितिलाई यथासम्भव सुरक्षित बनाउन र व्यवस्थित गर्न सक्दो प्रयास गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।