काठमाडौं- अफगानिस्तानका राष्ट्रपति अशरफ घानीका भाइ हश्मत घानीले तालिबानले देश कब्जा गरेको दाबीलाई स्वीकार गरेका छन्।
शनिबार आफ्नो पश्चिमी काबुलमा रहेको घरबाट अलजजिरासँग कुरा गर्दै घानीले तालिबानले देश कब्जा गरेको स्वीकार गरेका हुन्।
उनले एक समावेशी सरकार गठन गर्न आह्वानसमेत गरेका छन्। ‘विदेशी सेनाहरु अन्तिम फिर्ताबाट मात्र केही दिन टाढा छन्। काबुलमा नयाँ आदेश स्वीकार गर्नु अफगानिस्तानका जनताको लागि एक आवश्यकता हो,’ उनले भने।
अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन्।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले काबुलमा रहँदा तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्ने बताए।
‘उहाँले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्नुहुनेछ,’ उनले भने।
शनिबार मात्रै तालिबान इन्चार्ज अब्दुल रहमान मन्सूरले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद करजई र उच्च मेलमिलाप परिषद्का प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहलाई भेटेका छन्।
भेटमा अब्दुल्लाले तालिबान अधिकारीहरुलाई भने ‘काबुलका जनताको सुरक्षा र सुरक्षा सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।’
उनका अनुसार तालिबानले यस विषयमा काबुलका जनताको सुरक्षा गर्न कुनै कसर बाँकी नराख्ने उत्तर दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।