Photo : Rahmat Gul/AP]
काठमाडौं- अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको भागदौडमा सात अफगान नागरिक मारिएको बेलायती सेनाले जनाएको छ।
बेलायती रक्षा मन्त्रालयले एक विज्ञप्ति निकाल्दै उनीहरुको मृत्यु भएको पुष्टि गरेको हो। ‘काबुलको परिस्थिति अत्यन्तै चुनौतीपूर्ण छन्। तर, हामी परिस्थितिलाई यथासम्भव सुरक्षित बनाउन र व्यवस्थित गर्न सक्दो प्रयास गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
काबुल कब्जा गरेसँगै तालिबानले सरकारी अधिकारी, विदेशी नागरिक र उनीहरुका साथ काम गरेका अन्य नागरिकलाई केही नगर्ने वचन दिएको थियो। यद्यपि, धेरै अफगानी देश छोड्न खोज्दैछन् र यसका लागि उनीहरु जुनसुकै हदसम्म जान तयार छन्।
यता, अफगानिस्तानका पदच्युत राष्ट्रपति अशरफ घानीका भाइ हश्मत घानीले तालिबानले देश कब्जा गरेको दाबीलाई स्वीकार गरेका छन्। उनले एक समावेशी सरकार गठन गर्न आह्वानसमेत गरेका छन्।
शनिबार आफ्नो पश्चिमी काबुलमा रहेको घरबाट अलजजिरासँग कुरा गर्दै घानीले भने ‘विदेशी सेनाहरु अन्तिम फिर्ताबाट मात्र केही दिन टाढा छन्। काबुलमा नयाँ आदेश स्वीकार गर्नु अफगानिस्तानका जनताको लागि एक आवश्यकता हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।