Photo : Reuters
काठमाडौं- तालिबानको डरले अफगानिस्तान छोडेर भागेका अफगानी शरणार्थीलाई रोक्न ग्रीसले टर्कीसँगको सीमामा पर्खाल निर्माण गरेको छ।
अफगानी शरणार्थीको ठूलो मात्रामा आगमनको सम्भावनालाई ध्यानमा राख्दै ग्रीसले ४० किलोमिटर लामो पर्खाल निर्माण गर्ने निर्णय लिएको हो।
ग्रीसका रक्षामन्त्री मिकालिस क्रिसोकौडिस शुक्रबार एभ्रोस क्षेत्रको भ्रमण गरेका थिए। त्यहाँ उनले भने, ‘हामी सम्भावित प्रभावको लागि चुपचाप पर्खन सक्दैनौं। कसैले हाम्रो सीमा पार गर्न सक्दैन।’
टर्कीले युरोपेली देशहरुलाई अफगान शरणार्थीहरुको जिम्मेवारी लिन अपील गरेकै समयमा ग्रीसले उक्त कदम चालेको हो।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिससँग टेलिफोन कुराकानीको क्रममा भने,‘अफगानिस्तानबाट भाग्ने मानिसहरुको संख्यामा अचानक वृद्धि हुनु सबैका लागि गम्भीर चुनौती हो। यदि अफगानिस्तान र इरानले आवश्यक कदम चालेन भने कोही पनि शरणार्थीलाई रोक्न सक्दैन।’
तालिबानले अफगानिस्तान नियन्त्रण लिएपछि धेरै मानिसहरु आफ्नो ज्यान बचाउन देश छोड्न खोज्दैछन् र यसका लागि उनीहरु जुनसुकै हदसम्म जान तयार छन्।
ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले अफगानिस्तानको समस्याले युरोपको आप्रवासी संकटको सम्भावना बढेको बताए।
२०१५ मा ग्रीस शरणार्थी संकटको केन्द्रमा थियो। मध्यपूर्वमा युद्ध र गरिबीबाट प्रभावित एक लाखभन्दा बढी मानिसहरु टर्की हुँदै ग्रीस प्रवेश गरेका थिए। यसपटक ग्रीसले गैरकानूनी रुपमा पसेका अफगानीहरुलाई देश निकाला गर्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।