काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा उद्धारका क्रममा थप मानिसहरुको मृत्यु हुनसक्ने बताएका छन्।
दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने वाइडेनले बताएको बीबीसीले उल्लेख गरेको छ।
काबुलबाट मानिसहरुको उद्धार गर्ने काम खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयभित्र उक्त काम सम्पन्न गर्ने बताए।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले "इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार" मा १३,००० जनाको उद्धार गरिसकिएको जानकारी दिए। फगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्याएको भन्ने राष्ट्रपतिको भनाइ भने रक्षामन्त्रीसँग बाझिएको छ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए। दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन।
तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो।
तर काबुलमा विमानस्थलसम्म आउन अमेरिकीहरूले समस्या ब्यहोर्न परेको बताइरहेका छन्।
शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ।
तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन्। "घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्याउँछौँ," सङ्कटलाई सम्बोधन गर्न बिदा छोट्याएर फर्किएर अमेरिकी राष्ट्रपतिले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।