Photo : Rahmat Gul/AP
काठमाडौं- अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसंघले आरोप लगाएको छ।
राष्ट्रसंघले तयार पारेको एउटा रिपोर्टमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ। ‘अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,’ रिपोर्ट लेखिएको छ।
सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी १५ अगस्टमा अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनीहरुले शासन सुरु गरेका छन्।
कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरुले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सवैलाई आममाफी दिने घोषणा गरेपनि व्यवहार भने त्यस्तो नभएको रिपोर्टमा उल्लेख गरिएको छ।
तालिबान समूहको खानतलासी र उनीहरुले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरु उडानहरुमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो रिपोर्टमा विपक्षीहरुलाई तालिबान समूहका व्यक्तिहरुले धम्क्याउने गरेको दाबी पनि गरिएको छ।
तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।