Photo : EPA
काठमाडौं- अष्ट्रेलियाको ठूलो शहर सिड्नीमा रात्रीकालीन कर्फ्यू घोषणा गरिएको छ। साथै, न्यू साउथवेल्स राज्यमा जारी लकडाउन एक महिना थप गरिएको छ।
न्यू साउथवेल्स सरकारले संक्रमण नियन्त्रणका भन्दै लामो समयदेखि लकडाउन जारी राखेको छ। तर, यसले पनि संक्रमण भने नियन्त्रणमा आउन सकेको छैन।
डेल्टा भेरियन्टको नयाँ लहर सुरु भएपछि प्रिमियर ग्लेडिज बेरिजिक्लिनले न्यू साउथवेल्स राज्यमा गत जुन २५ मा पहिलोपटक लकडाउनको घोषणा गरेकी थिइन्।
पछिल्लो २४ घण्टा न्यू साउथवेल्स ६ सय ४४ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ४ जनाको निधन भएको छ।
शुक्रबार न्यू साउथ वेल्सकी प्रिमियर बेरेजिक्लियनले पछिल्लो केही दिनयता दैनिक ६ सयभन्दा धेरै संक्रमित देखिन थालेको भन्दै लकडाउनमा जनस्वास्थ्यका थप केही मापदण्डहरु थप गरिएको बताएकी छन्। उनले स्वास्थ्य र प्रहरीले एकसाथ काम गर्नुपर्ने बताएकी छन्।
राज्यका अति प्रभावित १२ वटा स्थानीय सरकारी क्षेत्रहरूमा सोमबार मध्यरातबाट लागू हुने गरी राती ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यूको घोषणा गरिएको छ। यस्तै, राज्यभर मास्कलाई अनिवार्य बनाइएको छ।
उक्त क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई १४ दिनमा क्वारेन्टिनमा राखिने छ।
‘खोपको पहिलो डोज लगाएपछि प्रभावकारी रूपमा काम गर्न कमसेकम दुईदेखि तीन हप्ता समय लाग्ने हुनाले लकडाउनलाई एक महिना थप्ने तथा अतिप्रभावित स्थानीय सरकारी क्षेत्रहरूमा थप नियमहरू लागू गरिएको हो’, प्रिमियर बेरिजिक्लिनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।