काठमाडौं- मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माईल साब्री बिन याकोब नियुक्त भएका छन्।
देशको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले शुक्रबार याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले निवर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप-प्रधानमन्त्रीसँगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरेका थिए। राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी उनैलाई दिएका थिए।
तत्कालीन प्रधानमन्त्री यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए। उनले सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गरेका थिए।
बिहीबार मात्रै याकोबलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्य रहेको भन्दै ११४ जना सांसदहरुले राजदरबारमा पुगेर राजा समक्ष सहमतिपत्र बुझाएका थिए। उनको सपथ ग्रहण भोलि हुनसक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।