काठमाडौं- अमेरिकामा यूएस क्यापिटल भवन (अमेरिकी संसद भवन) नजिक विस्फोटको धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।
४९ वर्षीय फ्लोएड रे रोजबेरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विस्फोटको धम्की दिएको केही घन्टापछि उनले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ। अहिलेसम्म उनको उदेश्य पुष्टि भएको छैन। प्रहरीले उनी र गाडीको जाँच गरेको छ।
संसद अहिले चलेको छैन, तर कर्मचारी भने नियमित कार्यालय गइरहेका छन्। विस्फोटको धम्कीपछि केही भवनलाई खालि गराइएको थियो।
गाडीबाट सामाजिक सञ्जालमा लाइभ गरेका ति व्यक्तिको भिडियो सामाजिक सञ्जालमा सेयर भएको थियो। फेसबुकले त्यस लाइभ र ति व्यक्तिको प्रोफाइल फोटो हटाइदिएको छ।
उक्त भिडियोमा रोजबेरीले अमेरिकी राष्ट्रपति जो वाइडनको नाममा सन्देश दिइरहेका थिए र क्रान्तिको कुरा गरिरहेका थिए।
क्यापिटल प्रहरी प्रमुख जे थोमस मेन्गरका अनुसार रोजबेरीले बसेमेन्टमा ट्रक रोकेका थिए। उनलाई सोधपुछ गर्न गएका एक प्रहरी अधिकारीसँग उनले आफूसँग विस्फोटक पदार्थ भएको बताएका थिए।
प्रहरीले रोजबेरीको भनाइ पछि रोबोटको माध्यमबाट एक फोन पठाएको थियो तर उनले त्यसलाई प्रयोग गरेनन्। तर पछि रोजबेरीले गाडीबाट उत्रिएर आत्मसमर्पण गरे।
प्रहरीका अनुसार रोजबेरीको गाडीबाट विस्फोटन गर्ने सामान फेला परेको छ। तर विस्फोटक पदार्थ भने फेला नपरेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।