Photo : Wakil Kohsar/AFP
काठमाडौं- बेलायतबाट स्वतन्त्र भएको सम्झनामा अफगानिस्तानका विभिन्न सहरमा देशको झण्डा लिएर प्रदर्शन गरिएको छ। बिहीबार राजधानी काबुल र पूर्वी सहर जलालावादमा प्रदर्शन भएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा राजधानी काबुलमा ठूलो संख्या उपस्थित भएर ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्दै नारा लगाएको देख्न सकिन्छ।
प्रदर्शनमा महिला पनि सहभागी छन्। तालिबानले यसबारेमा अहिले केही भनेको छैन।
यद्यपि, यस क्रममा गोली चलाइएको र केही व्यक्तिको ज्यान गएको समाचार सार्वजनिक भएका छन्। तर, पुष्टि हुन भने सकेको छैन।
कुनार प्रान्तको राजधानी असदाबादमा एक र्यालीका क्रममा कम्तीमा भीडमा तालिबान लडाकूहरुले गोली चलाउँदा दुई जनाको मृत्यु भएको बताइएको छ। घटनामा कम्तीमा ८ जना घाइते भएका छन्।
कसैले तालिबान लडाकूमाथि चक्कु प्रहार गरेपछि भीडमा गोली चलाएको अलजजिराले जनाएको छ।
पछिल्लो समय तालिबानले अफगानी नागरिकमाथि आक्रमण तीव्र बनाएको छ। बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका छन्।
यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गर्दै आन्दोलन गरेका थिए।
अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो।
खोस्तमा तालिबानविरुद्ध प्रदर्शन रोक्न कर्फ्यू लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।