Photo : AP/Rahmat Gul
काठमाडौं- अफगानिस्तानको अस्दाबादमा स्वतन्त्रता दिवस मनाइरहेकाको भीडमा तालिबान लडाकूहरुले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ८ जना घाइते भएका छन्।
कसैले तालिबान लडाकूमाथि चक्कु प्रहार गरेपछि भीडमा गोली चलाएको अलजजिराले जनाएको छ।
पछिल्लो समय तालिबानले अफगानी नागरिकमाथि आक्रमण तीव्र बनाएको छ। बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका छन्।
यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गर्दै आन्दोलन गरेका थिए।
अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो।
खोस्तमा तालिबानविरुद्ध प्रदर्शन रोक्न कर्फ्यू लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।