File: Reuters
काठमाडौं- म्यानमारमा सैन्य ‘कू’ लागू भएयता एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ।
सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै गत १ फेब्रुअरीदेखि सेना प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सेनाले ‘कू’ गरेपछि त्यसको विरोधमा नागरिक आन्दोलन सुरु भएको थियो।
केहीदिन शान्तिपूर्ण तरिकाले चलेको आन्दोलनमा सेनाले चरम दमन गर्दा हालसम्म एक हजार ६ जनाले ज्यान गुमाइसकेको एएपीपीले जनाएको छ।
तर, सैन्य अधिकारीहरुले एएपीपीको तथ्यांक सही नभएको दाबी गर्दै आएको छ। सेनाले दर्जनौं सुरक्षा बलका सदस्यहरु पनि मारिएको बताएको छ। तर उक्त संख्या एएपीपीले गन्ती नगरेको आरोप लगाएको छ।
सत्तापलटको अगुवाइ गरेका सेना प्रमुख ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन्। उनले म्यानमारमा संकटकाल अगस्ट सन् २०२३ अर्थात् आगामी दुई वर्षसम्मका लागि बढाउन सकिने बताएका छन्।
म्यानमारमा दैनिक आयोजना हुने प्रदर्शन, सीमा क्षेत्रमा झडप र हड्तालले अर्थव्यवस्थालाई गम्भीर क्षति पुर्याएको छ। देशमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ।
सैन्य सरकारले कोरोना महामारी नियन्त्रणका लागि खास पहल नगरेको मानवअधिकारकर्मी तथा स्थानीयहरूले आरोप पनि लगाउँदै आएका छन्।
कोरोनाका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी पनि सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन्।
पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ।
देशको स्वास्थ्य सेवा कोरोना संक्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ। चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ।
सरकार निकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको आन्दोलनरत दल तथा अधिकारवादी समूहले आरोप लगाएका छन्।
यस्तै, यी प्रदर्शनमा मारिने मध्ये केही स्वास्थ्यकर्मी रहेको बताइएको छ। उनीहरुको मृत्युका कारण म्यानमारमा स्वास्थ्य व्यवस्थामा असर परेको छ र कोरोना महामारी संक्रमण तीव्ररुपमा फैलिएको छ। प्रदर्शनमा उत्रिएका कयौं स्वास्थ्यकर्मी पक्राउ गरिएको छ भने कयौं लुकेका थिए।
मानिसहरु उपचारका लागि अस्पताल जाँदै गर्दा सेनाले उनीहरुलाई फर्काइदिएको थियो। जसका कारण कयौं मानिसको अक्सिजनको कमीका कारण घरमै मृत्यु भएको जनाइएको छ।
यता, सेना प्रमुख ह्लाइङले भने सत्ता परिवर्तनको विरोधीहरुले जानिबुझी कोरोना फैलाएको आरोप लगाएका छन्।
सेनाले नेशनल लीग फर डेमोक्रेसी (एनएलडी)की नेत्री आङ सान सू चीलाई समेत बन्दक बनाएको छ भने उनीमाथि आपराधिक आरोपमा मुद्दा चलिरहेको छ।
उनको पार्टीलाई ‘आतंकवादी’को उपनाम दिइएको छ। यस्तै,एनएलडीका समर्थकलाई पनि सेनाले ‘उग्रवादी’ भन्दै आएको छ।
सन् २०१७ मा सूचीको पार्टी सत्तामा हुँदा अल्पसंख्यक रोहिंग्याहरुमाथि गरेको ‘क्रूर’ व्यवहारको कारण धेरैजसो छिमेकी देश बंगलादेश पलायन हुन बाध्य भएका थियो। उक्त घटनाबारे पनि अनुसन्धान भैरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।