काठमाडौं- अष्ट्रेलियाली सेनाका एक दोभासे र एक महिलालाई तालिबान लडाकूले गोली हानेको छ।
अफगानिस्तानको केन्द्रीय राजधानी काबुल विमानस्थल प्रवेश गर्न खोज्दा उनीहरुमाथि गोली चलाइएको हो। दोभासेको खुट्टामा गोली लागेको एसबीएस न्यूजले जनाएको छ।
ती व्यक्तिले एक अडियो सन्देशमा भने, 'हिजो म काबुलको विमानस्थल गएको थिए। गेटसम्म पुग्न लाइनमा बर्सिरहेको थिएँ। एक्कासी एक तालिबान लडाकूले मेरो खुट्टामा गोली हान्यो।म अहिले घाइते छु।'
एसबीएस न्यूजद्वारा प्राप्त तस्बिर उनले घाइते खुट्टाको अस्पतालमा उपचार गरिरहेको देखिन्छ। उनले सन् २०१० देखि २०११ को बीचमा उरुज्गानमा अष्ट्रेलियालीहरुको सेवा गरेका थिए।
घटनाका प्रत्यक्षदर्शी अर्का एक अष्ट्रेलियाली दोभासेका अनुसार स्थित एकदमै भयावह थियो।
'सयौं मानिसहरु देश छोड्नको लागि हतासमा थिए। विमानस्थलमा प्रवेश गर्नको लागि गेटमा धक्कामुक्की चलेको थियो। हामी धेरै डराएका थियौं। त्यसैले हामीले त्यो स्थान छाड्यौं। म त्यो वातावरणमा मेरो बच्चाहरुसँग रहन सक्दिनँ,' उनले भने।
अस्ट्रेलियाले बुधाबार आफ्ना नागरिक र अफगानीसहित २६ जना यात्रुको उद्धार गरेको थियो। यसमा अष्ट्रेलियाका लागि काम गर्ने दुई दुभाषेको पनि उद्धार गरिएको थियो। तर, विमानस्थल पुगेका अरु धेरै जनालाई फर्काइएको थियो।
तालिबानले भने आफूहरुले शान्ति चाहेको बताउँदै कसैसँग बदला लिने मनस्थिति नबनाएको स्पष्ट पारेको छ।
यद्यपि, दुई दशकभन्दा बढी अमेरिकी नेतृत्वको विदेशी सेनाहरुलाई सहयोग गरेका हजारौं अफगानिस्तानहरु देश छाड्न आतुर देखिएका छन्।
बुधबार पनि विभिन्न गठबन्धन सेनाका १०० भन्दा धेरै दोभासेहरु भाग्ने प्रयासमा थिए।
अफगानीहरुले अष्ट्रेलिया र बेलायती सरकारलाई नियम बनाएर आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन्। उनीहरुले उद्धार गरिनेहरुको सूची बनाएर पहिले होटेल र त्यसपछि विमानस्थलसम्म लैजाने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
'प्रत्येक पटक जब हामी गेटमा जान्छौं यहाँ धेरै भीड हुन्छ र गोली चल्छ,' एक अफगानीले भने, 'यहाँ धेरै खतरा छ।'
अष्ट्रेलिका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना सैनिक र कर्मचारीका लागि काम गर्ने अफगानीलाई नायकको संज्ञा दिँदै सबैको उद्धार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
'काबुल एक खतरनाक ठाउँ हो। उक्त स्थानमा अस्ट्रेलियालीहरुलाई लामो समय सहयोग गरेका सबैलाई सुरक्षित ल्याउन प्रयास गरिरहेका छौं। अस्ट्रेलियाका लागि उनीहरु सबै नायक हुन्,' उनले भने।
यता, विदेशमन्त्री मारिस पायनेले अष्ट्रेलियाली र भिसा धारकहरुलाई विमानस्थलसम्म सुरक्षित बाटो निर्माण गरेर जान दिन तालिबानसँग आग्रह गरेका छन्।
'हामीले पहिले पनि भनिसकेका छौं र म पुन: दोहोर्याउँछु देश छोड्न चाहनेहरुलाई अनुमति दिन र सहयोग गर्न आग्रह गर्छु,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।