काठमाडौं- अस्ट्रेलियाली सेनाका लागि काम गर्ने अफगान इन्टरप्रेटर (दोभासे) माथि विमानस्थलको बाहिर एक नाकामा गोली प्रहार भएको छ। उनीमाथि मंगलबार गोली प्रहार भएको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनी मंगलबार राति अफगानिस्तानबाट बाहिरिने उडानका लागि काबुल विमानस्थल पुग्ने प्रयासमा थिए।
'एसबीएस' र 'द गार्डियन अस्ट्रेलिया' मा प्रकाशित फोटोमा डाक्टर गोली लागेका एक व्यक्तिको उपचार गरिरहेका छन् जसको खुट्टामा गोली लागेको छ।
उक्त घटना काबुल विमानस्थलको बाहिर भएको हिंसा र भागदौडबारे आइरकेका विवरणहरुको पुष्टि भएको समाचारहरुमा उल्लेख गरिएको छ।
ठूलो संख्यामा अफगानिस्तानमा फसेका विदेशी नागरिक र अफगान नागरिक देश छोडेर बाहिर जाने प्रयास गरिरहेका छन्। काबुल विमानस्थलसम्म पुग्न उनीहरुले विभिन्न नाका हुँदै जानु पर्ने छ जहाँ तालिबान लडाकुहरुले पहरा दिइरहेका हुन्छन्।
बीबीसीका अनुसार लडाकुले केवल विदेशी नागरिकलाई मात्र जान दिइरहेका छन्।
गोली लागेका व्यक्तिका अनुसार उनी अस्ट्रेलियाका लागि उड्न लागेको पहिलो सैन्य विमानमा जाने तयारीमा थिए, तर उनीमाथि एक नाकामा गोली प्रहार भयो।
एसबीएसका अनुसार उनले २०१० र २०११ का बीच उरुज्गानमा अस्ट्रेलियाली सेनाका लागि काम गरेका थिए।
अस्ट्रेलियाले पहिलो उडान मार्फत २६ जनालाई अफगानिस्तानबाट निकालेको छ। तर यस बिमानमा १२८ जनाका लागि ठाउँ थियो।
उता अमेरिकाले हरेक उडानमा ३ सय मानिसलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।