काठमाडौं- ताजिकिस्तानका लागि अफगानिस्तानका राजदूत लेफ्टिनेन्ट जनरल जाहिर अघबरले तालिबान शासन अस्वीकार गरेका छन्।
उनले राष्ट्रपति अशरफ घानीले तालिबानसँग विश्वासघाती वार्तापछि सत्ता त्यागेको आरोप लगाउँदै उक्त शासन नमान्ने बताएका हुन्।
‘म भन्न सक्दिन कि तालिबानले युद्ध जितेको हो। यो केवल अशरफ घानीको एक चाल थियो, जसले तालिबानसँग विश्वासघाती वार्ता गरेर सत्ता त्यागे,’ उनले समाचार एजेन्सी रोयटर्सलाई भने।
यस्तै, उनले काबुलको उत्तरमा रहेको पञ्जशीर प्रान्तबाट स्वयं घोषित कार्यवाहक राष्ट्रपति अमरुल्लाह सालेहको नेतृत्वमा तालिबान शासनको प्रतिरोध गर्ने बताए।
राजदूत बन्नुअघि अघबरले अफगानिस्तानको राज्य सुरक्षामा प्रहरी प्रमुखसहित वरिष्ठ पदमा रहेर काम गरेका थिए। अघबरले घानी देशद्रोही भएको भन्दै उनीसहित दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेका छन्।
घानी, राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिब र घानीका पूर्वमुख्य सल्लाहकार फजेल महमूदमाथि कोषागार चोरी गरेको आरोप उनले लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।