Image: Reuters
काठमाडौं- ताजिकिस्तानस्थित अफगानिस्तान दूतावासले राष्ट्रपति अशरफ घानी र उनका दुई सहयोगीलाई पक्राउ गरिदिन इन्टरपोल प्रहरीलाई आग्रह गरेको छ।
घानी, राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मोहिब र घानीका पूर्वमुख्य सल्लाहकार फजेल महमूदमाथि कोषागार चोरी गरेको आरोप लागेपछि पक्राउ गर्न माग गरिएको हो।
तालिबानले काबुल नियन्त्रणमा लिएपछि भागेका घानीलाई ताजिकिस्तानले शरण दिएको बताइन्छ। संकटको स्थितिमा देश छाडेर भागेका घानीमाथि रुसले पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप लगाएको छ।
काबुलमा रहेको रूसी दूतावासकी प्रवक्ता निकिता इश्चेन्कोले घानी भाग्दा केही पैसा नअटेर छोड्नु परेकोसमेत दाबी गरेकी छन्।
इश्चेन्कोलाई उद्धृत आरआईएले भनेकी थिइन्,‘चार कारहरु पैसाले भरिएको थियो, उनीहरुले पैसाको अर्को भाग एक हेलिकप्टरमा राख्ने कोसिस गरे। तर, ती सबै अटेन र केही पैसा त्यही छाडेर भागेका थिए।’
तालिबान लडाकूहरूले काबुललाई घेरेपछि दुई हप्ताभन्दा कम समयमा देशको ३४ प्रान्तीय राजधानीमा २६ कब्जा गरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताका बीच घानीले देश छाडेका हुन्।
आइतबार तालिबानले अफगानिस्तानको शक्तिको केन्द्र मानिएको काबुललाई घेरा हालेका थिए। त्यसपछि तालिबानले आफ्ना लडाकूहरुलाई हिंसा नगर्न र काबुल छोड्न चाहने जो कोहीलाई सुरक्षित जान दिन निर्देशन दिएको थियो।
यता, घानीले देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको प्रतिक्रिया दिएका छन्। उनले आफू रहँदा तालिबान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसले लाखौं मानिसको जीवन खतरामा पर्न सक्ने भएकाले देश छाडेको उल्लेख गरेका छन्।
तालिबानले तरबार र बन्दुकको भरमा जित हासिल गरेको उनले उल्लेख गरेका छन्। अब देशका नागरिक र उनीहरुको इज्जत हिफाजतको जिम्मेवारी तालिबानमाथि रहेको उनले बताएका छन्।
अर्थशास्त्रीको विद्यार्थी घानी अफगानिस्तानको १४औं राष्ट्रपति थिए। उनी पहिलोपटक २० सेप्टेम्बर२०१४ मा निर्वाचित भएका थिए र २८ सेप्टेम्बर २०१९ को राष्ट्रपतिय चुनावमा पुनः निर्वाचित भएका थिए।
तालिबानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेका थिए। तर, ११ सेप्टेम्बर २००१ मा संयुक्त राज्य अमेरिकामा हमला भएपछि अमेरिकी नेतृत्वको सेनाले उनीहरुलाई सत्ताबाट हटाएर उग्रवादी समूहको क्रूर शासनको अन्त्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।