काठमाडौं- अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि इस्लामिक कट्टरपन्थी समूह तालिबानले गोली चलाएको छ।
बुधबार जलालबादको कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो। तर, प्रदर्शनमा उत्रिएकामाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय अलजजिराले जनाएको छ।
सामाजिक सञ्जालमा पोस्ट भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको देख्न सकिन्छ।
उक्त घटनामा कसैलाई गोली लागे या नलागेको भन्ने खुल्न सकेको छैन। यद्यपि, तालिबानका लडाकूले आन्दोलनको कभरेज गरिहेका सञ्चारकर्मीलाई पनि कुटपिट गरेका थिए।
यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गर्दै आन्दोलन गरेका थिए।
अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो।
अलजजिराका सञ्चारकर्मी चार्लोट बेलिसले भन्छन्,‘ तालिबान विरोधी प्रदर्शन जलालाबादभन्दा बाहिर धेरै अन्य प्रान्तहरुसम्म फैलिएको छ। राष्ट्रिय झण्डा हटाइएको र तालिबानको झण्डा राखिएकोमा धेरै नागरिकहरु दुखी छन्।’
उनले थपे,‘यो मात्र प्लसपोइन्ट होइन। विमानस्थलमा अराजकता चलिरहेको छ जहाँ तालिबान अझै पनी मानिसहरुलाई एयरपोर्ट पुग्नबाट रोक्न खोज्दै छ। सुरक्षा परिधि उल्लंघन गर्दै सोमबारको घटना दोहोर्याउँदा हजारौं मानिसहरु विमानस्थलमा पुगेका थिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।