काठमाडौं- अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ।
उनीहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको बताइएको छ।
सो क्रममा दुई नेताहरुले एकआपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिएका थिए।
फोनवार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गरेको बताइएको छ।
आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ।
अफगानिस्तानबाट बाहिरन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्तरुपमा सहायता प्रदान गर्ने विषयमा नेताहरु सहमत भएका छन्।
त्यसैगरी आगामी दिनमा अफगानिस्तानमा आउनसक्ने मानवीय सङ्कटको समाधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने नेताहरुले बताएका समाचारमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।