काठमाडौं– अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरी सञ्चारमाध्यममा आफ्नो धारणा सार्वजनिक गरेको छ। गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दुःख दिन नचाहेको बताएको बीबीसीमा उल्लेख छ।
पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको जनाउँदै देशको लागि गर्वको विषय भएको बताएका थिए।
अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै उनले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको बताए। उनले सबै कर्मचारीलाई कुनै डरविना काममा फर्कनसमेत आग्रह गरेका थिए।
देशलाई धार्मिक नियम अनुसार सञ्चालन गरिने बताउँदै उनले महिला अधिकारको भने सम्मान गर्ने बताए। महिलाहरुले सरिया कानुन मान्नुपर्ने बताउँदे प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको समाचारहरुमा उल्लेख छ। महिलाहरुले डराउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।
आफूहरुले अब कुनै पनि शत्रु नचाहेको जनाउँदै उनले अब तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन्।
यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर निजीक्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा ढुक्क रहन पनि उनले आग्रह गरेका छन्।
तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको बताउँदै उनले केही दिनमै सरकार गठन हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।