काठमाडौं- तालिबानले अफगानिस्तानमा कब्जा गरेसँगै धेरैले देश छाड्न खोजिरहेका छन्। देश छाड्न चाहनेहरुको भीड विमानस्थलमा देखिएको थियो।
रनवेमा नै मानिसहरु विमानको अघिपछि कुदेको र उडान भर्न लागेको विमानमा झुन्डिएका तस्वीर, भिडियोहरु सार्वजनिक भएका छन्। त्यतिमात्र होइन विमानमा झुन्डिएर गएका मध्ये २ जनाको खसेर ज्यान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विमानस्थलमा भीडजम्मा भएसँगै अमेरिकी सेनाले चलाएको गोली लागेर कम्तिमा पाँच जनाको मृत्युसमेत भएको छ।
देश छाड्न चाहने अफगानीलाई अमेरिकी कार्गो विमानले लगेको तस्वीर सार्वजनिक भएको छ।
अमेरिकी आरसीएच ८७१ विमान काबुलबाट आइतबार राति अफगानी शरणार्थीलाई लिएर उडेको छ।
विमान अमेरिकी दूतावासका कर्मचारीलाई लिनपुगेको भएपनि अफगान नागरिकहरु विमानमा घुसेका थिए।

विमानमा रहेकाहरुको संख्या ८ सयको हाराहारी भएको अनुमान गरिएको भएपनि विमानका अधिकारीहरुले भने ६४० जना रहेको बताएका डेलिमेलले जनाएको छ। उनीहरुलाई टेक्सास र विसकन्सिनमा लगिएको अमेरिकी रक्षा विभागले सोमबार पुष्टि गरेको डेलीमेलको समाचारमा जनाइएको छ।
१५० जना सुरक्षाकर्मी बस्ने गरि बनाइएको कार्गो विमानमा ६४० जनाले उडान भरेका हुन्। जसमध्ये धेरै जसो महिला र बालबालिका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।