Photo : AFP
काठमाडौं- अफगानिस्तानको केन्द्रीय राजधानी काबुलबाट हुने सबै व्यावसायिक उडान रद्द गरिएको छ।
तालिबानले पुनः सत्ता हातमा लिने कोसिस गरेसँगै हजारौं नागरिक देश छाड्न चाहेका छन्। तर, उडान संख्याभन्दा देश छाड्न चाहने भएपछि विमानस्थलमा हिंसात्मक दृश्य देखिएका छन्।
त्यसैले सोमबारदेखि सबै व्यावसायिक उडान रद्द गरिएको काबुल विमानस्थल प्राधिकरणले जनाएको छ।
‘लुटपाट रोक्न हमिद करजई विमानस्थलबाट कुनै पनि व्यावसायिक उडानहरु हुने छैनन्। कृपया भिडभाड नगर्नुहोस्,’ प्राधिकरणले भनेको छ।
यसैबीच, काबुलको अन्तर्राष्ट्रिय विमानस्थलबाट चेक गणतन्त्रले ४८ जनाको उद्दार गरेको छ।
प्रधानमन्त्री आन्द्रेज बाबिसका अनुसार उद्धार गरिएकोमा चेक दूतावासका कर्मचारी, नागरिक र अफगानिस्तानका दोभाषेहरु थिए। उनीहरुले चेक सेनाहरुलाई नेटो मिसनमा सहयोग गरेका थिए।
चेकका आन्तरिकमन्त्री जान हमासेकले काबुलको विमानस्थलमा बिग्रिएको स्थितिलाई ध्यानमा राख्दै चेक विमान उडान गर्न सफल भएकोमा यसलाई ‘चमत्कार’को रुपमा लिएको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार देश छोड्न काबुल विमानस्थलमा हजारौं मानिसहरु भेला भएका थिए।
यसअघि अमेरिकी पेन्टागन र विदेश विभागले संयुक्त विज्ञप्तिमा आफ्नो सेनाले विमानस्थलको हवाई यातायात नियन्त्रण लिने जनाएको थियो।
पश्चिमी समर्थित सरकार ढलेपछि र राष्ट्रपति अशरफ घनीले देश छोडेर भागेपछि तालिबान राजधानी आइपुगेका थिए।
तालिबानको क्रूर शासन हुने डरले हजारौं नागरिक हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न खोज्दैछन्। सामाजिक सञ्जालमा देखिएको भिडियोहरुमा सयौं मानिसहरु दौडिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।