काठमाडौं- रुसले अफगानिस्तानका राष्ट्रपति अशरफ घनी पैसाले भरिएको चार कार र हेलिकप्टर लिएर भागेको आरोप लगाएको छ।
काबुलमा रहेको रूसी दूतावासकी प्रवक्ता निकिता इश्चेन्कोले घानी भाग्दा केही पैसा नअटेर छोड्नु परेकोसमेत दाबी गरेकी छन्।
इश्चेन्कोलाई उद्धृत आरआईएले भनेको छ,‘चार कारहरु पैसाले भरिएको थियो, उनीहरुले पैसाको अर्को भाग एक हेलिकप्टरमा राख्ने कोसिस गरे। तर, ती सबै अटेन र केही पैसा त्यही छाडेर भागेका थिए।’
अफगानी सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहले राष्ट्रपति घानी आइतबार देश छाडेको पुष्टि गरेका थिए।
गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै घानी ताजिकिस्तान गएको बताएका छन्।
तालिबान लडाकूहरूले काबुललाई घेरेपछि दुई हप्ताभन्दा कम समयमा देशको ३४ प्रान्तीय राजधानीमा २६ कब्जा गरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताका बीच घनीले देश छाडेका हुन्।
आइतबार तालिबानले अफगानिस्तानको शक्तिको केन्द्र मानिएको काबुललाई घेरा हालेका थिए। त्यसपछि तालिबानले आफ्ना लडाकूहरुलाई हिंसा नगर्न र काबुल छोड्न चाहने जो कोहीलाई सुरक्षित जान दिन निर्देशन दिएको थियो।
यता, घानीले देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको प्रतिक्रिया दिएका छन्। उनले आफू रहँदा तालिबान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसले लाखौं मानिसको जीवन खतरामा पर्न सक्ने भएकाले देश छाडेको उल्लेख गरेका छन्।
तालिबानले तरबार र बन्दुकको भरमा जित हासिल गरेको उनले उल्लेख गरेका छन्। अब देशका नागरिक र उनीहरुको इज्जत हिफाजतको जिम्मेवारी तालिबानमाथि रहेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।