Photo : Wakil Kohsar/AFP
काठमाडौं- अफगानिस्तान कब्जामा गरेको तालिबानसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ स्थापित गर्न इच्छुक रहेको चीनले बताएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले सोमबार उक्त कुरा बताएकी हुन्। ‘चीनले अफगान जनताको स्वतन्त्र रुपमा आफ्नो भाग्य निर्धारण गर्ने अधिकारको सम्मान गर्दछ र अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगी सम्बन्ध विकास गर्न जारी राख्न चाहन्छ,’ उनले भनिन्।
यसअगाडि १३ साउनमा बेइजिङ भ्रमणमा पुगेका तालिबानका सह-संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादारसँगको छलफलमा चीनले इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम)सँग सम्बन्ध तोडे अफगानिस्तान पुनःनिर्माणमा साथ दिने वाचा गरेको थियो।
सिनजियाङका उइगर मुस्लिममाथि ज्यादती भएको खबरहरु आइरहेको बेला ईटीआईएम समूहले चीनमा प्रवेश गरेर विद्रोह गर्ने चेतावनी दिएका छन्।
यी लडाकुहरु मुख्यगरी अफगानिस्तानको बदख्सान प्रान्तमा फैलिएका छन्। यो प्रान्तको ९० किलोमिटर सीमा चीनको सिनजियाङसँग जोडिएको छ।
यसअघि तालिबानले आफूले चीनलाई सहयोगीको रुपमा हेरेको र आफूले त्यस्ता लडाकूलाई चीन प्रवेश गर्न नदिने बताएको थियो।
यसअघि सन् २०१९ मा पनि तालिबान प्रतिनिधिलाई चीनले बेइजिङमा छलफलको लागि बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।