काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताए।
‘तपाईंहरूको लगानी केमा केन्द्रित छ? घरजग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन’, उनले भने। उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूहरूलाई आग्रह गरे।
‘तपाईंहरूका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु’, मन्त्री शर्माले भने, ‘तपाईंहरूले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्। कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्। गरिबी निवारणमा सहयोग गर्नुस्।’
सहकारीहरूले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए। कतिपय सहकारीहरूले जनताको पैसा ठगेर उठिबास लगाएका घटनाहरू देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे।
उनले सहकारीका संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे। अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरू तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत् ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आवद्ध रहेका छन्। देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरूमा ३४ लाख व्यक्तिगत सदस्यहरू आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।