काठमाडौं- अफगानिस्तानको अन्तरिम सरकार प्रमुख तालिबानका सह-संस्थापक अब्दुल घानी बरादर अर्थात् मुल्ला बरादरलाई बनाइने दाबी गरिएको छ।
अहिले तालिबानको कतारको दोहास्थित कार्यालयमा राजनीतिक प्रमुख रुपमा कार्यरत बरादरलाई अन्तरिम सरकारका प्रमुखको जिम्मेवारी दिइन लागेको तालिबाननिकट स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
तालिबान काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तान भागेको बताइएको छ।
तालिबानको राजनीतिक नेतृत्व गर्दै आएका बरादरले दोहामा अमेरिकासँग भएको वार्ता समूहमा पनि थिए।
उनी मुल्लाह ओमरका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक हुन। उनी पाकिस्तानको कराचीमा सन् २०१० मा पक्राउ परेका थिए। करिब ८ वर्षपछि उनलाई रिहा गरिएको थियो।
यता, तालिबानलाई सहयोग गर्दै आएको रुसले अफगानिस्तानको वैधानिक अधिकारको रुपमा ‘मान्यता’ नदिएको स्पष्ट पारेको छ।
राज्य समाचार एजेन्सी आरआईएले रूसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै उक्त भनाइ सार्वजनिक गरेको हो।
यता, मन्त्रालयले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई रुसमा शरण नदिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।