पोर्ट-अउ-प्रिन्स, तस्वीर : एपी
काठमाडौं- क्यारेबियन राष्ट्र हाइटीमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएकाे छ। स्थानिय समयअनुसार शनिबार बिहान भूकम्प गएको हो।
अमेरिकी भूकम्प मापन केन्द्र (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी, मध्य पोर्ट-अउ-प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ। ७ माइलको गहिराइ भएको भुइँचालो २ सय किलोमिटर टाढा जमैकासम्म हल्लाएको थियो।
भूकम्पले लेस कायेस र जेरेमिन दुई सहरमा ठूलो क्षति भएको बताइएको छ।तर, अहिलेसम्म मानवीय क्षतिबारे कुनै उल्लेख भएको छैन।
तर, भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।
युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटरसम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ।
प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत् सार्वजनिक तस्वीरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका विद्यालय र आवासीय भवनहरूमा क्षति पुर्याएको देखिएको छ।
यसभन्दा पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। सो समय भूकम्पले पोर्ट-अउ-प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो।
उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो भने तीन लाखभन्दा बढी घाइते भएका थिए। उक्त घटनामा साढे एक लाखभन्दा बढी घरबारविहीन भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।