काठमाडौं- अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तत्कालै राजीनामा नदिने भएका छन्। शनिबार देशका नागरिकलाई सम्बोधन गर्दै उनले राष्ट्रपति पदबाट राजीनामा दिने अनुमान गरिएको थियो।
तर, राष्ट्रिय टेलिभिजनमार्फत् प्रसार भएको रेकर्डेड सन्देशमा उनले आफ्नो सन्देशमा पद छोड्ने या राजीनामाबारे कुनै टिप्पणी गरेनन्।
अमेरिका र अन्य विदेशी सैनिक २० वर्षको सैन्य अभियानपछि फिर्ता भएसँगै तालिबानी तीव्र रुपमा अघि बढिरहेका छन् र उनीहरुले गाँउ, शहर हुँदै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेका छन्।
उनीहरुले ३४ प्रान्तमध्ये १९ प्रान्त आफ्नो कब्जामा लिइसकेका छन्। राजधानी काबुलभन्दा ५० किलोमिटर नजिकको शहर पनि तालिबानकै कब्जामा छ। युद्धबाट त्रसित लाखौं जनता घर छाड्दै काबुलमा विस्थापित भएका छन्।
तालिबानले युद्धविराम र राजनीतिक सम्झौताका लागि राष्ट्रपति घानीले राजीनामा दिनुपर्ने माग राखेका थिए। त्यही अनुसार उनले यस सम्बोधनमा राजीनामाको घोषणा गर्नसक्ने अनुमान गरिएको थियो। तर, त्यस्तो घोषणा आएन।
‘अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई फेरि एकजुट गर्नु नै मेरो पहिलो प्राथमिकता हो। यस सम्बन्धमा गम्भीर उपायहरु अपनाइरहेका छन्। म यो भरोसा दिलाउन चाहन्छु,’ उनले भने।
उनले अफगानिस्तानको स्थितिबारे स्थानीय नेता र अन्तरराष्ट्रिय सहयोगीहरुसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्।
यता, अफगानिस्तानस्थित सञ्चारमाध्यमहरुले राष्ट्रपति घानीको सन्देशबाट उनी पद त्याग्न तयार नरहेको प्रष्ट भएको बताएका छन्।
‘अशरफ घानी सरकारलाई समग्र अवस्था हेर्दा एकदमै आत्तिएको दृश्य देखिएको छ। तर, उनी तालिबानविरुद्ध सुरक्षाबललाई फेरि एकजुट बनाउने कोसिसमा लागेका छन्,’ बीबीसीले लेखेको छ।
अफगान सरकारले काबुलमा तालिबानको कब्जा भन्दा लडाइँको डरले सर्वसाधारण चिन्तित छन्। अहिले तालिबान र अफगान सुरक्षा बलबीच मैदान शहरस्थित गभर्नर कार्यालय क्षेत्रमा भीषण लडाइँ जारी छ। मैदान शहरलाई काबुलको प्रवेशद्वार पनि भनिन्छ।
आज बिहान तालिबानले पक्तिया प्रान्तको राजधानी राजधानी शरनालाई पनि कब्जामा लिएको थियो। त्यसपछि तालिबान काबुलबाट केबल एक घण्टाको दूरीमा आइपुगेको छ।
कान्दाहरका गभर्नर रुहउल्लाह खानजादले तालिबानसामू आत्मसमर्पण गरेका छन्। तालिबानले कन्दाहारको रेडियो र सरकारी टिभीको नाम शरिया कायम गरेका छन्। सरकारी कार्यालयमा तालिबानको बोर्ड राखिएको छ।
पक्तिया तालिबानले कब्जा गरेको १९औं प्रान्त हो। पछिल्ला सात दिनमा तालिबानले १८ प्रान्तमा कब्जा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।