काठमाडौं- अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई जनतालाई युद्ध नथोपर्ने बताएका छन्।
शनिबार राष्ट्रिय टेलिभिजनमार्फत् प्रसार भएको रेकर्डेड सन्देशमा उनले पछिल्ला २० वर्षका उपलब्धिलाई गुम्न नदिने उल्लेख गर्दै आफ्नो सम्पूर्ण ध्यान अस्थिरता, हिंसा र जनताको विस्थापनलाई रोक्नुमा रहेको बताएका छन्।
‘राष्ट्रपतिको रूपमा मेरो ध्यान थप अस्थिरता, हिंसा र जनताको विस्थापनलाई रोक्नुमा हुनेछ,’ उनले भने,‘ हामीले पछिल्ला २० वर्षमा जे हासिल गरेका छौं, त्यसलाई गुम्न दिनेछैनौं। हामी थप अफगानीहरुको हत्या हुन दिनेछैनौं र सार्वजनिक सम्पत्ति पनि नष्ट गर्नेछैनौं।’
अमेरिका र अन्य विदेशी सैनिक २० वर्षको सैन्य अभियानपछि फिर्ता भएसँगै तालिबानी तीव्र रुपमा अघि बढिरहेका छन् र उनीहरुले गाँउ, शहर हुँदै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेका छन्।
उनीहरुले ३४ प्रान्तमध्ये १९ प्रान्त आफ्नो कब्जामा लिइसकेका छन्। राजधानी काबुलभन्दा ५० किलोमिटर नजिकको शहर पनि तालिबानकै कब्जामा छ।
युद्धबाट त्रसित लाखौं जनता घर छाड्दै काबुलमा विस्थापित भएका छन्। सुरक्षाकर्मीहरुले तालिबानको पर्याप्त प्रतिरोध नगरेको र शहर कब्जामा जान दिएको उनीहरुको आरोप छ।
तालिबानले युद्धविराम र राजनीतिक सम्झौताका लागि राष्ट्रपति घानीले राजीनामा दिनुपर्ने माग राखेका थिए। त्यही अनुसार उनले यस सम्बोधनमा राजीनामाको घोषणा गर्नसक्ने अनुमान गरिएको थियो। तर, त्यस्तो घोषणा आएन।
‘अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई फेरि एकजुट गर्नु नै मेरो पहिलो प्राथमिकता हो। यस सम्बन्धमा गम्भीर उपायहरु अपनाइरहेका छन्। म यो भरोसा दिलाउन चाहन्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।