काठमाडौं- अमेरिकाले आफ्ना नागरिक उद्दारका लागि ३ हजार सैनिक पुन: अफगानिस्तान पठाउने भएको छ। अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सैनिकको मिसन छोटो समयका लागि हुने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा पठाउन ३५ सय सैनिक कुवेतस्थित सैन्य बेसमा तैनाथ गरिसकिएको छ।
यी सैनिक आवश्यकता अनुसार अफगानिस्तान सरकारको मद्दतका लागि जानसक्ने जनाइएको छ। यसका साथै १ हजार सैनिक कतारमा तैनाथ गरिएको मन्त्रालयले जनाएको छ।
यी सैनिकले विशेष भिसामा अमेरिका बस्न चाहने अफगानीलाई सहयोग गर्ने जनाइएको छ। अमेरिकाले आफ्ना सैनिकका लागि दोभाषे काम गरेका र सहयोग गरेका अफगानी नागरिकलाई विशेष भिसामार्फत् अमेरिकामा शरण दिने योजना बनाएको छ।
पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट सेना फिर्ता हुने र अब युद्धमा नपठाउने बताइसक्नु भएको छ। त्यसैले यी सेना केबल हाम्रा नागरिकको उद्दार र अन्य आवश्यक सहयोग परेकाहरुलाई अफगानिस्तान बाहिर निकाल्ने योजनामा खटिन लागेका हुन्।’
उनले विदेश मन्त्रालयलाई पनि विशेष अध्यागमन भिसा दिने प्रक्रियालाई तीव्र बनाउन आग्रह गरेका छन्। त्यसमा कुनै अवरोध हुन नहुनेमा उनले बताएका छन्।
वाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारसँग अफगानिस्तानको अवस्थालाई लिएर बैठक गरेका छन्। त्यसपछि अमेरिकी दूतावासले अलर्ट जारी गरेको थियो।
अफगानिस्तामा रहेका अमेरिकीलाई कुनै पनि उडानमा त्यहाँबाट बाहिरिन दूतावासले निर्देशन दिसकेको छ। यसका लागि अमेरिकाले अफगानिस्तानमा अतिरिक्त उडान पनि राख्ने छ।
यी अतिरिक्त उडानबाट अफगानिस्तानमा आफूहरुलाई सहयोग गरेका नागरिकलाई विशेष भिसा दिएर अमेरिका लैजाने योजना बनाइएको छ। अमेरिकी प्रवक्ता नेड प्राइसले अफगानिस्तान दूतावासका काम गरिरहेका ५४ सय कर्मचारीलाई त्यहाँबाट निकाल्ने अभियान सुरु भइसकेको जानकारी दिएका छन्।
यसमा करिब १४ सय अमेरिकी नागरिक छन्। उनले काबुलमा आफूहरुले निगरानी गरिरहेको बताउँदै ती कर्मचारी र दूतावास कार्यालय रक्षाका लागि उपाय खोजिरहेको पनि बताएका छन्।
अमेरिकाले अबको ३० दिनभित्र तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने निष्कर्ष निकालेको छ। तालिबानको कब्जासँगै आफू समर्थित सरकार पनि चाँडै ढल्ने अनुमान अमेरिकाले लगाइसकेको छ।
यस्तो आशंकाबीच अमेरिकी वार्ताकारले तालिबानले राजधानी काबुल कब्जा गरेमा आफ्नो दूतावासमा हमला नगर्न आग्रह गरिरहेका छन्। तालिबानसँग मुख्य अमेरिकी दूत जाल्मय खलीलजादको नेतृत्वमा भएको वार्तामा अमेरिकाले आफ्ना नागरिक र दूतावासका अधिकारीमाथि कुनै क्षति नपुर्याउन आग्रह गरेको हो।
तालिबानका अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहारमाथि कब्जा गरिसकेको छ। समाचार एजेन्सी एपीका अनुसार तालिबानले अहिलेसम्म ३४ मा १२ प्रान्तमाथि कब्जा जमाइसकेको छ। कन्दाहारमाथि तालिबानले बिहीबार राति कब्जा गरेको हो।
देशकै दोस्रो ठूलो सहर कान्दहार नियन्त्रणमा लिनु आफूहरुको ठूलो सफलता भएको तालिवानले दाबी गरेको छ। दक्षिण अफगानिस्तानका यी सहर तालिबानका लागि निकै महत्त्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन्। कान्दाहार अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो।
अफगानिस्तानमा जारी संघर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिएको बताएको थियो। पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।