दुबई– इन्धनको मूल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ।
आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ।
पूँजी विश्लेषकहरूको समूह भन्छ, ‘सन् २०१७ मा ०.७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८ को पहिलो चौमासिकमा १.५ प्रतिशतले वृद्धि भएको छ।’
‘इन्धनको मूल्यमा आएको सुधार नै साउदी अरबको अर्थतन्त्रमा देखिएको सकारात्मक सूचकको मुख्य वाहक हो,’ लण्डनस्थित पूँजी विश्लेषक समूहले बताएको छ।
सन् २०१६ मा प्रति व्यारेल ३० अमेरिकी डलरभन्दा कम बनेको पेट्रोलियम पदार्थको मूल्य सन् २०१८ मा आइपुग्दा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको थियो। पेट्रोलियम पदार्थको निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) र आयात गर्ने प्रमुख मुलुकहरूबीच भएको सम्झौतापछि तेलजन्य इन्धनको मूल्यमा समायोजन गरी तेल निर्यात गर्ने राष्ट्रको अर्थतन्त्रमा देखिएको सङ्कटलाई समाधान गर्न सम्भव भएको विश्लेषकहरूको भनाइ छ।
पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै सन् २००९ पछि साउदी अरबको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिन थालेको थियो।
रियादस्थित जाद्वा इन्भेष्टमेन्ट कम्पनीले भनेको छ, ‘सन् २०१३ को अक्टोवरपछि पहिलो पटक यो वर्षको अप्रिलमा मात्र आम्दानीमा मासिक रूपमा सवैभन्दा ठूलो अङ्कले वृद्धि भएको देखिएको थियो।’ यससँगै उक्त कम्पनीको वार्षिक बचत १३ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो।
कम्पनीले दिएको जानकारी अनुसार सन् २०१४ को अन्त्यमा ७ सय ३२ अर्ब अमेरिकी डलर रहेको बचत यस वर्षको अप्रिलमा आइपुग्दा ५ सय ६ अर्ब ६० करोड अमेरिकी डलर कायम हुन पुगेको थियो।
सन् २०१४ देखि साउदी अरबको बजेट घाटा २ सय ६० अर्ब अमेरिकी डलर पुगेको छ र सन् २०१८ मा पनि ५२ अर्ब अमेरिकी डलरको बजेट घाटा रहने प्रक्षेपण साउदी सरकारले गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।