काठमाडौं- चीनको एक अदालतले जासुसी गरेको आरोपमा एक क्यानडेली नागरिकलाई ११ वर्षको जेल सजाय सुनाएको छ।
क्यानडेली व्यवसायी माइकल स्पाभोरलाई जासुसीको आरोपमा सन् २०१८ मा पक्राउ परेका थिए। उनीसँगै क्यानडाका पूर्वकूटनीतिक कर्मचारी माइकल कोभरिग पनि पक्राउ परेका थिए। उनीहरु हाल चीनको हिरासतमा छन्।
चीनको डानडोङस्थित एक अदालतले बुधबार वक्तव्य जारी गर्दै जासुसी र अवैधरुपमा चीनको गोप्य जानकारी अर्को मुलुकमा पुर्याएको आरोपमा स्पाभोर दोषी पाइएको जनाएको छ। उनलाई ११ वर्षको जेल सजायका साथै ५० हजार चिनियाँ युआन जरिवानाको फैसला सुनाइएको छ।
उनलाई मुलुकबाट निष्कासन गरिने पनि फैसलामा उल्लेख छ। तर, चीनले जेल समय भुक्तानी गरेपछि मात्र निष्कासन गर्नेछ।
चिनियाँ अदालतको यो फैसलाले चीन र अमेरिकाको सम्बन्ध थप चिसिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ अदालतको फैसला अस्वीकार्य र अन्यायपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले स्पाभोरमाथिको कानुनी प्रक्रियामा पारदर्शिताको अभाव देखिएको बताएका छन्। साथै उनीमाथिको कारबाहीमा अन्तर्राष्ट्रिय कानुनको न्यूनतम मापदण्ड पनि पूरा नगरिएको उनको दाबी छ।
क्यानडनाले चिनियाँ प्रविधि कम्पनी हुवावेईका वरिष्ठ अधिकारी मेङ वाङचाउलाई गिरफ्तार गरेपछि यी दुई जना चीनमा समातिएका थिए। उनी ह्वावेका संस्थापक रेन चेङफेइकी छोरी हुन्।
क्यानडाले अमेरिकाको आग्रहमा मेङलाई पक्राउ गरेको थियो। मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रयास भइरहेको समयमा स्पाभोर चीनमा पक्राउ परेका थिए।
मेङलाई क्यानडामा गिरफ्तार गर्नुअघि रोबर्ट स्केलनवर्गलाई लागूऔषध कारोबार मुद्दामा १५ वर्षको सजाय सुनाइएको थियो। आलोचकले चीनमाथि स्पाभोर र अर्को एक क्यानडेली नागरिक पक्राउ गर्नुलाई राजनीतिक बार्गेनिङको हतियार भएको बताउँदै आरोप लगाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।