काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लिने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन्।
अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला उनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन्।
तालिबानले मुलुकका ३४ प्रान्तीय राजधानीमध्ये कम्तीमा ७ वटामा कब्जा गरिसकेको छ। अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ।
मंगलबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वाइडेनले एक भएर आफ्नो देशका लागि लड्न अफगानी नेताहरुलाई आह्वान गरे। उनले अमेरिकाले अफगानिस्तानमा अमेरिकाले आफ्ना बाचा पुरा गरिरहेको बताए।
‘उनीहरुले आफ्नालागि आफैँ लड्नुपर्छ। तर, हामीले हवाई सहयोग, सेनाको तलब भुक्तानी, अफगानी सेनालाई खाद्य तथा उपकरण सहयोग गरिरहेका छौं ,’ उनले भने।
गत एक महिनामा एक हजारभन्दा बढी गैरसैनिक नागरिकको ज्यान गइसकेको छ। मंगलबार मात्रै तालिबानले दुई प्रान्ती राजधानी फराह र पुल–ए–खुमरी कब्जा गरेको थियो।
वाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।