काठमाडौं– कोरोनाभाइरस संक्रमणको उच्च वृद्धिको सामना गरिरहेको बंगलादेशले मंगलबारदेखि शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीलाई खोप लगाउन सुरू गरेको छ।
बंगलादेशमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौं रोहिंज्या समुदाय कोरोनाभाइरस संक्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन्।
स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६ सय व्यक्ति संक्रमित भइसकेका छन्। हालसम्म २९ जना शरणर्थीको मृत्यु भएको सरकारी तथ्यांक छ।
खोप अभियानअन्तर्गत प्रारम्भिक चरणमा ५५ वर्ष नाघेका लगभग ४८ हजार शरणार्थीले आगामी तीन दिनमा चीनमा निर्मित सिनोफार्म खोप लगाइने स्थानीय स्वास्थ्य प्रमुख महबुबुर रहमानले बताएका छन् ।
छ लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने सबैभन्दा ठूलो शरणार्थी बस्ती कुटुपालोङमा खोप लिएर स्वास्थ्यकर्मी पुगिसकेका छन्।
स्वयंसेवकले शरणार्थी बसोबास गर्ने घरमै गएर जागरूकता अभियानसमेत सञ्चालन गरेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय बंगलादेशमा कोभिड संक्रमण वृद्धि भएको छ। बंगलादेशमा करिब २३ हजार कोभिड संक्रमितको मृत्यु भएको छ भने एक करोड ४० लाख व्यक्ति संक्रमित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।