काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन्। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ। तर, मन्त्रिपरिषद्को उक्त निर्णय हालसम्म गोप्य राखिएको छ।
मन्त्रिपरिषद्बाट निर्णय भए पनि घिसिङले नियुक्तिपत्र पाएका छैनन्। उनलाई आजै पदबहाली गराउने तयारी गरिए पनि नियुक्तिपत्र तयार नभएका कारण रोकिएको बताइएको छ। सम्भवत: भोलि (बुधबार) घिसिङले पदबहाली गर्ने छन्।
यसअघि प्रधानमन्त्री देउवाले प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार बाहिर आएको थियो। उक्त निर्देशनपछि घिसिङलाई नियुक्त गर्ने 'प्रक्रिया' समेत सुरु भइसकेको ऊर्जा मन्त्रालय स्रोतले बताएको थियो।
प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन आग्रह गरेको बताइएको थियो। तर, शाक्यले भने आफूलाई राजीनामा दिन नभनेको प्रस्टीकरण दिएका थिए। उनले सरकारले उपयुक्त ठाउँमा जिम्मेवारी दिए प्राधिकरण नेतृत्व छाड्न तयार रहेको बताएका थिए। तर, अपमानजनक रुपमा हटाइए अदालत जाने उनको भनाइ थियो।
घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि 'उल्लेख्य' सुधार गरेका थिए।
घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा 'रुचि' देखाएका थिएनन्।
घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।