काठमाडौं- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला जारी रहेको छ। सोमबारदेखि सुरु भएको बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखिरहेका छन्।
१४औं महाधिवेशन तोकिएको समयमा नहुने परिस्थिति सिर्जना हुँदै गएपछि आफ्नो पक्षको रणनीति बनाउन पौडेल पक्षका जिल्ला सभापतिको भेला बोलाइएको हो।
विधिसम्मत १४औं महाधिवेशनका लागि दबाब दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला गरिएको हो। क्रियाशील सदस्यता विवाद, तल्लो तहको अधिवेशन प्रभावित र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएपछि संस्थापनइतरका जिल्ला सभापतिको बैठक डाकिएको हो। बैठक ठमेलस्थित होटल यात्रीमा जारी रहेको छ।
प्रत्यक्ष ३६ जना र भिडिओ संवादमार्फत् थप १२ जिल्लाका सभापतिको छलफलमा सहभागिता रहेको कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले बताए। जिल्ला सभापतिको भेलाको समापन सम्बोधन वरिष्ठ नेता पौडेलले गर्ने भएका छन्।
पौडेल पक्षले तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने अडान पार्टीमा राख्ने भएको छ। तल्लो संरचनाका अधिवेशन छोट्याएर महाधिवेशन गर्न सकिने विकल्प पौडेल पक्षले अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।