काठमाडौं- बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको संस्था यूनिसेफले अफगानिस्तानमा बालबालिकामाथि हिंसा बढिरहेको र त्यसले गर्दा उनीहरु तनावमा परेको उल्लेख गरेको छ। अफगानिस्तानमा तालिबानले भिन्न प्रान्त कब्जा गर्दै हिंसात्मक गतिविधी बढाएसँगै बालबालिका जोखिममा परेका हुन्।
यूनिसेफले अफगानिस्तानमा जारी भीषण हिंसामा पछिल्ला तीन दिनमा २७ बालबालिका मारिएको एक रिपोर्टमा जनाएको छ।
यूनिसेफले बालबालिकामाथिको हिंसा दिनप्रतिदिन बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।
यूनिसेफका अनुसार तीन दिनमा कान्धार, खोस्त र पक्तियामा २७ बालबालिका संघर्षमा मारिएका छन् भने १३६ भन्दा धेरै यसबीचमा घाइते भएका छन्।
यूनिसेफले बालबालिकाको मृत्युको यो अवस्था आँकडामात्र नभएर शारीरिक पीडाको हरेक घटना व्यक्तिगत त्रासदी भएको उल्लेख गरेको छ।
यूनिसेफले अन्तरराष्ट्रीय मानवीय कानुनको माध्यमबाट यी बालबालिकालाई संरक्षणको अधिकार भएको भन्दै सबै पक्षलाई बालबालिकालाई बचाउन आह्वान गरेको छ।
तालिबानलाई अन्तर्राष्ट्रिय समूदायले युद्धविराम गर्न अनुरोध गरेको भएपनि उसले त्यसलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।