सोल- अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ। यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ। यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ।
यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन तर पनि दुईबीच आश्चर्यजनक रुपमा केही समानता भने रहेका छन्।
गत वर्ष अमेरिकी राष्ट्रपति पदमा सपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रुपमा परिचित छन्। उनी हाल ७२ वर्षका छन् र जुन १२ मा हुने उक्त वार्ताका दिन उनी ७२ वर्ष पूरा भएको हुनेछन्।
उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वको कान्छो राष्ट्रपतिको रुपमा चिनिन्छन्। उनको उमेर हाल ३४ वर्ष ६ महिनाको छ। उनले आजभन्दा ६ वर्षअघि उत्तर कोरियाको नेताका रुपमा काम थालेका हुन्।
सोलसिथ्त योनसे युनिभर्सीटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन्।
त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ। यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।