तस्वीर : ईपीए।
काठमाडौं- चरमपन्थी संगठन तालिबानले अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको दाबी गरेको छ।
तालिबानले पछिल्लो दुई दिनमा कब्जामा लिएको यो दोस्रो प्रान्तीय राजधानी हो। यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहर पनि कब्जा गरेको थियो।
अफगानिस्तानको रक्षा मन्त्रालयले सरकारी सेना अझै पनि सोही सहरमा रहेको र छिट्टै नै उक्त सहरलाई आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेको छ।
सेबर्घान अफगानिस्तानका पूर्वउपराष्ट्रपति अब्दुल रासिद डोस्टमको बलियो पकड रहेको सहर मानिन्छ। उनका समर्थकले उक्त सहरमा तालिबानविरुद्धको लडाइँको नेतृत्व गरिरहेका सरकारी अधिकारीहरूको भनाइ छ।
स्थिति नियन्त्रण बाहिर जानसक्ने भन्दै अहिले अफगानिस्तानको सेनालाई सहयोग गर्न १५० जना मानिसहरु उक्त सहरमा गएका छन्।
अमेरिकी र नेटो आवद्ध सेना फर्किने अन्तिम चरणमा रहेको बेला तालिबानले अफगानिस्तानका प्रमुख सहरमा आफ्नो कब्जा बढाउँदै लगेको छ।
गत शुक्रबार प्रान्तका गभर्नरको कार्यालयको कम्पाउण्डलाई तालिबानले नियन्त्रणमा लिएको थियो। तर, अफगानी सेनाले तालिबानलाई हटाएको थियो।
यता, प्रान्तका काउन्सिल प्रमुख बाबुर एस्कीले तालिबानी सेनाले बेसक्याम्पबाहेक सबै सहरलाई कब्जामा लिएको जनाएका छन्। उक्त बेसक्याम्पमा पनि सरकारी सेना र तालिबानबीच युद्ध चलिरहेको बताइएको छ।
कुन्दुज र लस्कर गाहमा पनि भिडन्त भइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।